बारा । भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको निगरानी कडा बनाइँदै जाँदा लागूऔषध तस्करी नियन्त्रणमा अर्को महत्वपूर्ण सफलता हात लागेको छ । बारा जिल्लासँग जोडिएको सीमाक्षेत्र नजिक सशस्त्र सीमा बल (एसएसबी) र प्रहरीले संयुक्त जाँचका क्रममा टाटा सफारी गाडीबाट ३० किलोभन्दा बढी गाँजा बरामद गरेका छन् ।
सोमबार साँझ करिब ५ बजेतिर भारतीय पक्षको बिओपी झरोखर चेकपोस्टमा नियमित सवारी जाँच भइरहेको बेला नो म्यान्स ल्याण्ड क्षेत्रमा केही सवारीसाधन पालो कुरिरहेका थिए । त्यही क्रममा एउटा टाटा सफारीका चालक अचानक गाडी छाडेर फरार भएपछि सुरक्षाकर्मीलाई शंका लागेको थियो ।
त्यसपछि चेकपोस्टमा खटिएको टोली र झरोखर प्रहरीले घटनास्थलमा पुगेर गाडीको विस्तृत जाँच गरेका थिए । जाँचका क्रममा गाडीभित्र लुकाइ राखिएको अवस्थामा करिब ३० किलोभन्दा बढी गाँजा फेला परेको हो ।
एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार गाँजा सुरक्षित प्याकेटमा राखिएको अवस्थामा बरामद गरिएको हो । बीआर ०५ पी ७३१८ नम्बरको उक्त टाटा सफारीभित्र सवारी दर्ता प्रमाणपत्र समेत भेटिएको जनाइएको छ ।
बरामद गाँजा सीमा स्तम्भ नम्बर ३५७/०३ नजिक झरोखर गाउँ आसपासको नो म्यान्स ल्याण्ड क्षेत्रबाट नियन्त्रणमा लिइएको एसएसबी प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिए ।
हाल गाडी र बरामद गाँजा नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार गाँजा मकवानपुरबाट बारा हुँदै सीमातर्फ ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।



