सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) रहेका छन् । आइतबार साँझ करिब ५ बजे आफ्नै मकैबारीमा पुगेका थिङले जंगली बँदेलले बाली नष्ट गरिरहेको देखेपछि त्यसलाई धपाउन खोजेका थिए ।
सोही क्रममा बँदेलले एक्कासी आक्रमण गर्दा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते थिङलाई उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
घटनाबारे साँझ ७ः३० बजे सूचना पाएपछि इलाका प्रहरी चौकी परवानीपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान थालेको जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



