मधेश प्रहरीको स्पष्टीकरण: डीआईजी थपलियाविरुद्ध दुष्प्रचार भएको दाबी

सर्लाही । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले पछिल्ला दिनहरूमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रहरी संगठन तथा प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियालाई लक्षित गर्दै फैलाइएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ । प्रहरीले ती सामग्रीहरू भ्रामक, तथ्यहीन र योजनाबद्ध रूपमा तयार गरिएको दाबी गरेको छ ।

प्रदेश प्रहरीका प्रवक्ता एसएसपी कमल थापाद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रमा तस्करी नियन्त्रण र अपराध नियन्त्रणमा कडाइ गरिएपछि अवैध गतिविधिमा संलग्न समूहहरू सक्रिय भई प्रहरी नेतृत्वविरुद्ध दुष्प्रचारमा लागेको उल्लेख गरिएको छ । केही माफिया, बिचौलिया, तस्कर तथा असन्तुष्ट तत्वहरूले प्रहरी संगठनको मनोबल गिराउने उद्देश्यले भ्रम फैलाइरहेको प्रहरीको भनाइ छ ।

प्रहरी जवान रोशन यादवसँग सम्बन्धित समाचारबारे पनि कार्यालयले स्पष्ट पारेको छ । विज्ञप्तिअनुसार उनलाई नियमित प्रशासनिक प्रक्रियाअनुसार स्पष्टीकरणका लागि बोलाइएको थियो। तर, उनले पत्र नबुझी कार्यालयबाट बाहिरिएको र त्यसपछि ‘कार्यालयभित्रै आत्महत्याको प्रयास’ भएको भन्दै गलत समाचार प्रकाशित गरिएको दाबी गरिएको छ । प्रहरीका अनुसार उक्त घटना कार्यालय परिसरभित्र भएको होइन ।

यससँग सम्बन्धित सीसीटीभी फुटेज सुरक्षित राखिएको जानकारी दिँदै प्रहरीले आवश्यक परे प्रमाण सार्वजनिक गर्न सकिने संकेत गरेको छ ।

त्यस्तै, डीआईजी थपलियाको नाम प्रयोग गरी व्यापारीसँग रकम असुली गरिएको भन्ने अडियो सामग्रीबारे पनि प्रहरीले आपत्ति जनाएको छ । ती अडियो बनावटी र भ्रामक रहेको दाबी गर्दै घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

वरिष्ठ सई सागरशम्शेर राणासम्बन्धी विवादमा समेत अनुसन्धान जारी रहेको र सामाजिक सञ्जालमा सार्वजनिक भएका अडियो–भिडियो सामग्री परीक्षणको क्रममा रहेको प्रहरीको भनाइ छ ।

मधेश प्रदेश प्रहरीले सञ्चार माध्यमलाई तथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्न आग्रह गर्दै अपुष्ट र भ्रामक सामग्रीले सुरक्षा निकायको प्रतिष्ठा तथा मनोबलमा असर पुग्ने चेतावनी दिएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय