सर्लाही । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गोबिन्द थपलियाले आफ्नो कार्यकक्षमै प्रहरी जवानले आत्महत्या प्रयास गरेको भन्ने समाचारलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।
यस विषयमा रातोपाटीसँग कुरा गर्दै उनले उक्त घटना आफूलाई जानकारीमै नभएको स्पष्ट पारे। “मलाई यसबारे केही थाहा छैन, मिडियामा आएपछि मात्र यस्तो कुरा सुनेको हुँ,” उनले भने, “यो सम्पूर्ण रूपमा कपोकल्पित समाचार हो।”
डिआइजी थपलियाले केही व्यक्तिहरूले नियोजित रूपमा मिडियाबाजी गरेर प्रहरी संगठनलाई बदनाम गर्न खोजेको आरोपसमेत लगाए। “यो सब बनावटी कुरा हो, प्रहरी संगठनको छवि बिगार्ने खेल रचिएको छ,” उनले प्रतिक्रिया दिए।
यसअघि एक प्रहरी जवानले डिआइजीकै कार्यकक्षमा आत्महत्या प्रयास गरेको भन्ने समाचार बाहिरिएपछि उक्त घटनाले चर्चा पाएको थियो। तर, डिआइजी थपलियाको भनाइले घटनाको सत्यतामाथि थप प्रश्न उठाएको छ।
यता प्रहरी जवान रोशन यादवले भने आफूलाई पछिल्ला चार दिनदेखि डिआइजी कार्यालयमा बोलाएर मानसिक दबाब दिइएको दाबी गरेका छन्। उनले “तिमी सागर शम्सेर राणाको मान्छे हौ, सागरलाई बोलाउ” भन्दै आफूलाई पटक–पटक सोधपुछ गरेर दुःख दिइएको बताएका छन्।
तर, हात काट्ने वा आत्महत्या प्रयास गरेको भन्ने कुरा पूर्ण रूपमा गलत रहेको रोशन यादव स्वयंले स्पष्ट पारेका छन्। “त्यो कुरा बिल्कुल झुटो हो, मैले कहिल्यै त्यस्तो गरेको छैन,” उनले भने, “हुनै नभएको कुरा कसरी बाहिर आयो, मलाई पनि थाहा छैन।”



