आत्मघाती प्रयासको समाचार ‘कपोकल्पित’— डिआइजी गोबिन्द थपलियाको दाबी

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गोबिन्द थपलियाले आफ्नो कार्यकक्षमै प्रहरी जवानले आत्मघाती प्रयास गरेको भन्ने समाचारलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् ।
यस विषयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त घटना आफूलाई जानकारीमै नभएको स्पष्ट पारे । “मलाई यसबारे केही थाहा छैन, मिडियामा आएपछि मात्र यस्तो कुरा सुनेको हुँ,” उनले भने, “यो सम्पूर्ण रूपमा कपोकल्पित समाचार हो।”

डिआइजी थपलियाले केही व्यक्तिहरूले नियोजित रूपमा मिडियाबाजी गरेर प्रहरी संगठनलाई बदनाम गर्न खोजेको आरोपसमेत लगाए । “यो सब बनावटी कुरा हो, प्रहरी संगठनको छवि बिगार्ने खेल रचिएको छ,” उनले प्रतिक्रिया दिए ।

यसअघि एक प्रहरी जवानले डिआइजीकै कार्यकक्षमा आत्मघाती प्रयास गरेको भन्ने समाचार बाहिरिएपछि उक्त घटनाले चर्चा पाएको थियो ।

प्रहरी स्रोतका अनुसार उक्त घटनामा जोडिएका भनिएका प्रहरी जवान रोशन यादव हालै तस्करसँगको अडियो काण्डका कारण विवादमा आएका वरिष्ठ सई सागर शम्सेर राणाका निकट व्यक्ति मानिन्छन् । राणाले नै उनलाई आफ्नो कमान्डमा जिल्ला स्तरमा सादा पोसाक (घुमुवा)का रूपमा परिचालन गर्दै आएका थिए ।

यस घटनाबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ भने वास्तविकता के हो भन्ने विषयमा थप अनुसन्धान आवश्यक देखिएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय