सर्लाही । सर्लाहीमा शसस्त्र प्रहरीले बिलविजक तथा भन्सार प्रज्ञापन पत्रविहीन किराना सामानसहित एक अटो नियन्त्रणमा लिएको छ ।
चन्द्रनगर गाउँपालिका–४, पोखरिया क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवाबाट स.प्र.नि. प्रकाश पाण्डेको कमाण्डमा खटिएको १० जनाको टोली र बि.ओ.पि. सखुअवाबाट स.प्र.ना.नि. पुष्कर रिमालको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त अटो फेला पारेको छ ।
चेकजाँचका क्रममा ज १ ह ४४५१ नम्बरको अटोमा बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त अटोमा सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवास निवासी अन्दाजी ३० वर्षीया बवी महतोलाई समेत नियन्त्रणमा लिइएको छ ।
सुरक्षास्रोतका अनुसार महत्तो सर्लाहीको त्रिभुवननगर क्षेत्रअन्तर्गत सखुअवा र पर्सा नाकाबाट लामो समयदेखि किराना लगायत विभिन्न सामान भन्सार छली गरी नेपाल भित्र्याउने कार्यमा संलग्न रहेको बताइएको छ ।
साथै, आफ्नो सामान नियन्त्रणमा लिएपछि उनले खटिएका सुरक्षाकर्मीलाई गृह मन्त्रालयसम्म पहुँच प्रयोग गरी सरुवा गराइदिने धम्की दिने, भिडियो बनाएर फसाइदिने तथा जागिरसमेत खाइदिने चेतावनी दिने गरेको एक सुरक्षाकर्मीले बताएका छन् ।
सुरक्षाकर्मीका अनुसार महत्तोले भन्सार छलीका सामान सहज रूपमा ल्याउन दिनुपर्ने भन्दै सार्वजनिक स्थलहरूमा समेत दुर्व्यवहार गर्ने गरेको आरोप छ । हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेकी उनले वर्तमान प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आफ्ना भतिजा रहेको बताउँदै आफू हिरासतबाट बाहिर निस्केपछि नियन्त्रणमा लिने सुरक्षाकर्मीलाई दुर्गम क्षेत्रमा सरुवा गराइदिने धम्की समेत दिएको स्रोतले जनाएको छ ।
सुरक्षाकर्मीलाई आर्थिक तथा राजनीतिक दबाब सिर्जना गराउन माहिर तस्करको रूपमा चिनिएकी छन् ।
नियन्त्रणमा लिइएको अटो तथा सामानलाई आवश्यक कारवाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको छ । भन्सार कार्यालयमा अटोको मूल्य रु. ३,५०,००० र किराना सामानको मूल्य रु. १,२७,१२५ गरी कुल रु. ४,७७,१२५ बराबरको सामान भन्सार दाखिला गरिएको जनाइएको छ ।



