रौतहट । रौतहटमा सीमावर्ती क्षेत्रमा मौलाउँदै आएको अवैध कुखुरा कारोबार फेरि उजागर भएको छ। चोर नाका हुँदै नेपाल भित्र्याइएका भारतीय बोइलर कुखुरा बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिएपछि तस्करी सञ्जालको गतिविधि फेरि सतहमा आएको हो।
सोमबार बिहान करिब ६:४० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना.५ च ३५६५ नम्बरको बोलेरो गाडीलाई इलाका प्रहरी कार्यालय गंगापिपराको टोलीले दुर्गा भगवती गाउँपालिका–३ अन्तर्गत मत्सरी क्षेत्रमा रोकेको थियो। जाँचका क्रममा गाडीभित्र ३५० पिस (झन्डै ७५० केजी) बोइलर कुखुरा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त कुखुरा राजपुर नगरपालिका–५ स्थित मुस्कान पोल्ट्रि फर्मबाट निकालेर गरुडा नगरपालिका–९ तर्फ लैजाँदै गरिएको अवस्थामा नियन्त्रणमा लिइएको हो। जिल्ला कुखुरा व्यवसायिक किसान संघ रौतहटको सूचनाका आधारमा कारबाही गरिएको बताइएको छ।
गाडी चालक गरुडा–९ का २६ वर्षीय अनवारुल हकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको छ।
यस घटनाले सीमाबाटै ठूलो परिमाणमा अवैध कुखुरा कसरी भित्रिन्छ भन्ने प्रश्न पुनः उठाएको छ। स्थानीय स्रोतहरूका अनुसार सीमापारिबाट चोर नाका प्रयोग गरी कुखुरा भित्र्याएर स्थानीय फर्मको नाममा ‘वैध’ बनाउने अभ्यास लामो समयदेखि चल्दै आएको आरोप छ।
सीमा क्षेत्रमा निगरानी कडा गरिएको दाबी भए पनि यस्ता गाडीहरू सहजै भित्रसम्म पुग्नुले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि शंका उत्पन्न गरेको स्थानीयको भनाइ छ। उनीहरूले यस्तो गतिविधि ‘सेटिङ’ बिना सम्भव नभएको दाबीसमेत गरेका छन्।
यसैबीच, नेपाली कुखुरा व्यवसायीहरू भने अवैध आयातका कारण मारमा पर्दै आएका छन्। बजारमा सस्तो दरमा आउने अवैध कुखुराका कारण उनीहरूको उत्पादन र बिक्री दुवै प्रभावित भएको बताइन्छ।
यो घटनाले सीमा सुरक्षा, प्रशासनिक निगरानी र तस्करी नियन्त्रणका विषयमा गम्भीर बहस पुनः सुरु गराएको छ।



