कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश, सीडीओ राउतसहित १० जनाविरुद्ध जाहेरी दर्ता गर्न आदेश

सर्लाही । सर्लाहीमा २०७६ साल असार ५ गते भएको कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्च अदालतले महत्वपूर्ण आदेश जारी गरेको छ । अदालतले तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत (हाल निर्वाचन आयोगका सचिव) सहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश दिएको हो ।

विप्लव नेतृत्वको तत्कालीन नेकपाका सर्लाही जिल्ला नेता कुमार पौडेललाई लालबन्दी क्षेत्रमा इन्काउन्टरको नाममा सुरक्षाकर्मीले गोली हानी हत्या गरेको आरोप लाग्दै आएको थियो । उक्त घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको छानबिन समितिले पनि घटनालाई हत्या भएको निष्कर्ष निकाल्दै दोषीलाई कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रहरी कार्यालय सर्लाही तथा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीलाई जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

अदालतको आदेशसँगै तत्कालीन सीडीओ कृष्णबहादुर राउत, प्रहरी उपरीक्षक गोपाल भट्टराई, प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन डीआईजी हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालीन प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र केडी साह, इलाका प्रहरी कार्यालय नवलपुरका तत्कालीन प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीका डा. वीरेन्द्रकुमार मण्डल, प्रहरी हवल्दार सत्यनारायण मिश्र र विनोद शाह तथा बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित १० जनामाथि अनुसन्धानपछि कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने भएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय