धादिङमा यात्रु बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु; २७ घाइतेको उद्धार

धादिङ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटनामा पर्दा १७ जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकमध्ये ६ महिला र ११ पुरुष रहेका छन् भने २७ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेको परिचय संकलन भइरहेको छ। दुर्घटनामा विदेशी नागरिकसमेत परेको र एक जना न्यूजील्याण्डका नागरिक रहेको जानकारी प्राप्त भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडास्थित स्थानमा ग१ख १४२१ नम्बरको बस राति करिब १ बजे सडकबाट करिब ३०० मिटर तल खस्दै त्रिशूली नदी किनारमा पुगेको थियो। बस पूर्ण रूपमा क्षतविक्षत अवस्थामा फेला परेको जनाइएको छ।

उद्धार टोलीले डुंगाको सहायताले यात्रुहरूलाई घटनास्थलबाट करिब एक किलोमिटर तलसम्म पुर्‍याएर सडकमा उकाली एम्बुलेन्समार्फत अस्पताल पठाएको थियो। रातको समय, दुर्गम भौगोलिक अवस्था र पर्याप्त उद्धार सामग्रीको अभावका कारण उद्धार कार्य कठिन बनेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताएका छन्।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो। सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाट र कुरिनटारस्थित तालिम शिक्षालयबाट गोताखोरसहितको टोलीले उद्धार कार्यमा सहयोग गरेको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय