वीरगन्ज । आइतबार साँझ वीरगन्ज बजार क्षेत्रमा सवारी पार्किङको विषयलाई लिएर दुई समुदायबीच विवाद उत्पन्न भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद केही समय ढुंगामुढासम्म पुगेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, एक व्यक्तिले आफ्नै घरअगाडि सडक छेउमा जिप रोकेका थिए। त्यसै क्रममा पछाडिबाट आएको मोटरसाइकललाई मार्ग अवरोध भएपछि चालकले हर्न बजाएका थिए। यही मामिला विवादको कारण बनेको हो।
पर्साका प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले भने, “यो कुनै ठूलो पूर्वनियोजित घटना होइन। एउटा गाडी सडकमा रोकिँदा पछाडिबाट आएको बाइकलाई अवरोध भएपछि हर्न बजाइएको मामिलामा विवाद सुरु भएको हो।”
घटनास्थलमा करिब दुईदेखि चार सय मानिस जम्मा भएका थिए र केही समय सामान्य ढुंगामुढासमेत भएको प्रहरीले जनाएको छ। स्थिति थप तनावपूर्ण बन्न नदिन प्रहरी तत्काल घटनास्थलमा पुगेका थिए र आवश्यक सामान्य बल प्रयोग गरी भीड नियन्त्रणमा ल्याइएको छ।
प्रहरीका अनुसार हाल घटनास्थलको अवस्था पूर्ण रूपमा सामान्य छ र सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिलेसम्म यस घटनामा कसैलाई पक्राउ गरिएको छैन र वातावरण शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



