गोली प्रहारबाट कर्मचारीको हत्या भएपछि सर्लाही अदालतका सेवा स्थगित

सर्लाही । सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट भएको हत्याको कडा विरोधमा सर्लाही जिल्ला अदालतमा कार्यरत कर्मचारीहरूले सोमबार एक दिनका लागि अदालतका सम्पूर्ण न्यायिक सेवा स्वस्फूर्त रूपमा स्थगित गरेका छन्।

अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीका अनुसार, हत्या जस्तो जघन्य घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कानुनी कारबाहीको मागसहित सेवा बन्द गर्ने निर्णय गरिएको हो। मलंगवा नगरपालिका–१० स्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत यादवलाई आइतबार साँझ करिब ८ बजे अज्ञात समूहले डेराबाट बाहिर बोलाई गोली प्रहार गरी हत्या गरेको बताइएको छ।

घटनाप्रति अदालत कर्मचारीहरूले घोर भर्त्सना जनाउँदै निष्पक्ष र शीघ्र अनुसन्धान गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

कर्मचारीहरूले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, साथै कर्मचारी र कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। अदालत कर्मचारीद्वारा जारी विज्ञप्तिमा २०८२ फागुन ४ गते सर्लाही जिल्ला अदालतबाट प्रदान हुने सबै सेवा एक दिनका लागि बन्द रहने उल्लेख गरिएको छ। सेवा स्थगनका कारण सेवाग्राहीमा परेको असुविधाप्रति कर्मचारीहरूले क्षमायाचना समेत गरेका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय