सर्लाही । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रभावशाली नेता बिनोद यादव सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने लगभग पक्कापक्की भएको छ। पार्टीभित्र लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका यादवलाई सर्लाही–३ का लागि बलियो उम्मेदवारका रूपमा हेरिएको छ।
राजनीतिक वृत्तमा बुद्धिजीवी सर्कलमा राम्रो पकड बनाएका र स्पष्ट तथा प्रभावकारी वक्तृत्वकलाका कारण परिचित यादव मधेश आन्दोलनदेखि हालसम्म भएका विभिन्न राजनीतिक आन्दोलनहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन्। यही पृष्ठभूमिका कारण पार्टी नेतृत्व र कार्यकर्तामाझ उनको उम्मेदवारीलाई स्वाभाविक र मजबुत विकल्पका रूपमा हेरिएको बुझिन्छ।
प्रदेश डायरीसँगको संक्षिप्त कुराकानीमा यादवले सर्लाहीका सबै निर्वाचन क्षेत्रसहित अन्य जिल्लाका सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरू भोलि सोमबार साँझसम्म शतप्रतिशत टुंगो लाग्ने बताए। उम्मेदवारको अन्तिम सूची पार्टीको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने पनि उनले जानकारी दिए।
सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट जसपाको तर्फबाट अर्का कोही उम्मेदवार हुन सक्ने सम्भावनाबारे प्रश्न गर्दा यादवले आफू पक्का जस्तै अवस्थामा रहे पनि अन्तिम निर्णय नआएसम्म औपचारिक रूपमा केही भन्न नमिल्ने प्रतिक्रिया दिए। विगतमा अन्तिम समयमा समेत टिकट परिवर्तन भएका उदाहरणहरू रहेको उल्लेख गर्दै उनले सोमबारसम्म सबै कुरा स्पष्ट हुने बताए।
यसैबीच, सामाजिक सञ्जालमा देखिएको चुनावी तरङ्गसँगै सर्लाहीका सबै निर्वाचन क्षेत्रहरू राजनीतिक चासोको केन्द्र बनेका छन्। उम्मेदवार छनोट, आन्तरिक समीकरण र सम्भावित गठबन्धनबारे विभिन्न अड्कलबाजी भइरहेका बेला जसपाको अन्तिम निर्णयलाई लिएर जिल्लाभर उत्सुकता बढेको छ।



