जनप्रतिनिधिको कुर्सी कि पारिवारिक शक्ति केन्द्र ? चन्द्रनगर अध्यक्षमाथि प्रश्नै प्रश्न

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोमाथि नातावाद, कृपावाद र जातीय पक्षपात हावी गराएको आरोप चर्किँदै गएको छ। स्थानीयस्तरमा अध्यक्ष महतोले पालिकाका विभिन्न शाखा र संस्थामा आफ्ना नजिकका आफन्त तथा सीमित जातीय घेराका व्यक्तिलाई प्राथमिकताका साथ नियुक्ति गरेको भन्दै आलोचना बढेको हो।

स्थानीय स्रोतका अनुसार अध्यक्ष महतोले आफ्नै फुफुको छोरा देनकुमार महतोलाई गाउँपालिकाको शिक्षा शाखामा प्राविधिक सहायक (पाँचौँ तह) मा नियुक्त गराएका छन्। देनकुमारकी श्रीमती सजन महतोलाई भने वडा नं. ४ स्थित श्री शंकर सिंह चन्द्रावती सार्वजनिक प्राथमिक विद्यालय, गरहाटोलमा बालविकास कोटामा शिक्षिकाको रूपमा राखिएको बताइन्छ। स्रोतहरूका अनुसार आवश्यक लाइसेन्स नहुँदा वैकल्पिक कोटा प्रयोग गरिएको दाबी गरिएको छ।

यतिमात्र होइन, शिक्षा शाखामा कार्यरत देनकुमार महतोमाथि शिक्षक भर्ना प्रक्रियामा आर्थिक चलखेल गरेको आरोपसमेत उठेको छ। वडा नं. ६ का स्थानीय सुवोध कर्णले जिरो दरबन्दीका विद्यालयमा स्वयंसेवक शिक्षक भर्ना गर्दा प्रति शिक्षक दुई लाख १० हजार रुपैयाँ मागिएको र प्रस्ताव अस्वीकार गरेपछि लिखित परीक्षा पास हुँदाहुँदै मौखिकमा फेल गराइएको आरोप लगाएका छन्। कर्णले दिवा खाजाका नाममा थप २० हजार रुपैयाँ माग गरिएको दाबी पनि गरेका छन्।

अध्यक्षका अन्य आफन्तहरू पनि विभिन्न पदमा रहेको उल्लेख छ। अध्यक्षका दाजुका छोरा अशोक महतो वडा नं. ४ स्थित पोखरिया स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत छन्। मामाका छोरा मेघनाथ महतो कम्प्युटर अपरेटरका रूपमा र भतिजा कृष्णकुमार महतो कुशवाहा कार्यालय सहयोगीका रूपमा नियुक्त भएको आरोप छ। साथै, आफन्त शम्भु शरण कुशवाहालाई सञ्चालनमै नआएको अस्पतालमा डेन्टिस्ट पदमा राखिएको, ज्वाइँ संजय महतोलाई सामी परियोजनाअन्तर्गत पाँचौँ तहमा र मितज्यू पर्ने राजकुमार महतोलाई बहुक्षेत्रीय पोषण योजनामा सहजकर्ताको जिम्मेवारी दिइएको बताइएको छ।

राजनीतिक वृत्तबाट पनि आलोचना तीव्र भएको छ। नेकपा चन्द्रनगरका नेता लखिन्द्र मुखियाले पालिकामा नातावाद र जातीय राजनीति हावी भएको आरोप लगाउँदै यस्तो अभ्यास लज्जास्पद भएको टिप्पणी गरे। त्यस्तै, वडा नं. ३ का नेपाली कांग्रेस का युवा नेता धर्मेन्द्र यादवले राजनीतिक पदको दुरुपयोग गर्दै सीमित घेरालाई फाइदा पुर्‍याउने ‘नयाँ व्यापार’ सुरु गरिएको आरोप लगाए।

तर, यी सबै आरोपहरूलाई प्राविधिक सहायक देनकुमार महतोले अस्वीकार गरेका छन्। उनले मिडियामा आएका समाचारहरू प्रमाणविहीन र नियोजित भएको दाबी गर्दै केही राजनीतिक व्यक्ति, झोले मिडियाकर्मी र युवालाई प्रयोग गरेर आफूलाई बदनाम गरिएको प्रतिक्रिया दिएका छन्। उनको प्रतिक्रियामा प्रयोग भएको भाषा र शैलीलाई लिएर पनि आलोचना भइरहेको छ।

आरोप–प्रत्यारोपबीच चन्द्रनगर गाउँपालिकामा पारदर्शिता, निष्पक्षता र सुशासनको सवाल गम्भीर रूपमा उठेको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय