बलरामा ५ दिनको तालिमलाई ३० दिन देखाएर भ्रष्टाचार, मेयरसहित ८ जनाविरुद्ध मुद्दा

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बलरा नगरपालिकामा सञ्चालित तालिम कार्यक्रमको नाममा सरकारी रकम हिनामिना भएको ठहर गर्दै नगर प्रमुख (मेयर) रामशंकर प्रसाद कुशवाहासहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा ‘किशोरीहरूको लागि खेलौना बनाउने तालिम’ शीर्षकमा सञ्चालन गरिएको कार्यक्रम ३० दिन चलाइएको देखाइए पनि वास्तविक रूपमा जम्मा ५ दिनमै टुंग्याइएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। तालिम पूरा नै नगरी झुट्टा बिल–भर्पाई, नक्कली प्रतिवेदन तथा सहभागीहरूको कीर्ते हस्ताक्षर तयार गरी ३ लाख ८२ हजार ५३ रुपैयाँ भुक्तानी गरिएको आरोपपत्रमा उल्लेख छ।

आयोगका अनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणबाट सहभागीहरूको हस्ताक्षरसमेत नक्कली भएको पुष्टि भएको छ। यस प्रकरणमा मेयर कुशवाहासँगै वडाध्यक्ष मनोज मोहनकुमार सिंह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, योजना शाखा प्रमुख उदयकुमार साह र सहायक लेखापाल राजकुमार महतो विपक्षी बनाइएका छन्।

त्यस्तै, तालिम सञ्चालन गर्ने संस्था शान्ति विकास कल्याण केन्द्रका अध्यक्ष सविन्द्र नारायण साह, सदस्य उमेशकुमार पासवान र जाजुल मिया कवारीलाई पनि प्रतिवादी बनाइएको छ।

आयोगले सबै प्रतिवादीहरूमाथि ३ लाख ८२ हजार ५३ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा बिगो बराबरको जरिवाना सजायको मागदाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय