सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–४ सासापुरमा बुधबार राति भिता खनेर चोरी भएको छ।
स्थानीय प्रयाग महतोको घरमा रातिको समयमा भिता खनेर प्रवेश गरेका चोरहरूले कोठाभित्र राखिएको बाकसको ताल्चा फुटाई एक तोला सुन, चार तोला चाँदी र १० हजार रुपैयाँ नगद चोरी गरेर फरार भएका हुन्।
स्थानीयका अनुसार चोरहरू घरभित्र प्रवेश गरेपछि बाकस तोडेर गरगहना तथा नगद संकलन गरी भागेका थिए। बिहीबार बिहान घटना थाहा पाएपछि घरधनीले प्रहरीलाई जानकारी गराएका थिए।
त्यसैगरी सोही स्थानका भरत महतोको घरमा पनि भिता खनेको अवस्थामा भेटिएको छ। तर उक्त घरमा भने चोरी गर्न चोरहरू असफल भएका छन्। स्थानीय रन्जन यादवका अनुसार चोरहरूले अर्को घरमा समेत प्रवेशको प्रयास गरे पनि चोरी नगरी फर्किएका हुन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाएको छ। चोरीमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय यस क्षेत्रमा भिता खनेर चोरीका घटना बढ्दै गएको भन्दै स्थानीयवासीले सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।



