बर्दिबासमा २५ गोरु तस्करी प्रकरण: जेनजी युवाको सक्रियताले खुल्यो अवैध सञ्जाल

सर्लाही । बर्दिबासमा सक्रिय जेनजी युवाहरूले नेपालबाट अवैध रूपमा गाईगोरु तस्करी गरी झापा हुँदै बंगलादेश लैजान लागिएको २५ वटा गोरु नियन्त्रणमा लिएका छन्। आइतबार राति करिब ८ बजेतिर ट्रकमा लोड गरी पूर्वतर्फ लैजाँदै गरिएको अवस्थामा ती गोरुहरू पुरानो नगरपालिका अगाडि रोकिएको ट्रकबाट फेला पारिएको हो।

जेनजी युवाहरूका अनुसार ९२९१ नम्बरको ट्रकमा लोड गरिएका गोरु नियन्त्रणमा लिएपछि ट्रकलाई बर्दिबास प्रहरीलाई जिम्मा लगाइएको भए पनि गोरु भने अझै प्रहरीलाई बुझाइएको छैन। ती गोरुहरू सर्लाहीको बरहथवाका व्यापारी शुम्भु सिंहको भएको र उनी लामो समयदेखि गाईगोरु तस्करीमा संलग्न रहँदै आएको युवाहरूले दाबी गरेका छन्।

युवाहरूले गम्भीर आरोप लगाउँदै गाईगोरु तस्करी सहज बनाउन प्रहरीलाई मासिक रूपमा ठूलो रकम बुझाइने गरेको बताएका छन्। उनीहरूका अनुसार बर्दिबास प्रहरीलाई मासिक ३ लाख रुपैयाँ र बर्दिबास ट्राफिक प्रहरीलाई ५० हजार रुपैयाँ दिने गरिएको छ। यसबाहेक जिल्ला एसपी तथा डिआइजीसम्म मासिक रकम पुग्ने गरेको आरोप पनि सार्वजनिक गरिएको छ।

यसअघि एक साताअघि पनि यही समूहले सिन्धुलीबाट ल्याइएका ४ वटा गाई र ४ वटा गोरु नियन्त्रणमा लिएर बर्दिबास प्रहरीलाई बुझाएको थियो। तर प्रहरी भने ती पशु आफूहरूले पक्राउ गरेको भन्दै भन्सारमा बुझाएको आरोप जेनजी युवाहरूले लगाएका छन्।

घटनाले बर्दिबास क्षेत्र हुँदै चलिरहेको गाईगोरु तस्करी र त्यसमा सम्भावित संस्थागत संलग्नताबारे गम्भीर प्रश्न खडा गरेको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय