वामपन्थी राजनीतिबाट अलगिँदै उमेश यादव जसपा नेपालमा, मधेश केन्द्रित एजेन्डामा भरोसा

काठमाडौँ । प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गर्दै केन्द्रीय सदस्य तथा पूर्व मन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । सप्तरी निवासी यादवले मंगलबार काठमाडौँको बालकुमारीस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टी सदस्यता लिएका हुन् ।

कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले यादवलाई स्वागत गर्दै अनुभवी नेतृत्वको आगमनले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले मधेश आन्दोलन, समावेशी लोकतन्त्र र संघीयताको प्रभावकारी कार्यान्वयनका सवालमा यादवको भूमिकाले राष्ट्रिय राजनीतिमा जसपा नेपाललाई अझ प्रभावकारी बनाउने बताए ।

पार्टी प्रवेशपछि मन्तव्य राख्दै यादवले वर्तमान राजनीतिक परिस्थिति, संघीयताको व्यवहारिक कार्यान्वयन, मधेशको अधिकार, पहिचान र सामाजिक न्यायका मुद्दामा जसपा नेपालको दृष्टिकोण स्पष्ट र जनमुखी रहेको उल्लेख गरे । ती एजेन्डामै विश्वास भएकाले पार्टी परिवर्तन गरेको उनको भनाइ थियो ।

लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय यादव नेकपा (माओवादी) पृष्ठभूमिबाट उठ्दै सेल कमिटीदेखि केन्द्रीय तहसम्म विभिन्न जिम्मेवारीमा सक्रिय रहे । उनले मधेशी राष्ट्रिय मुक्ति मोर्चा सप्तरीको संयोजक, जिल्ला जनसरकार प्रमुख, जिल्ला जनमिलिसिया कमिसार, जनमुक्ति सेनाको बटालियन कमिशार तथा वाईसियल नेपालको मिथिला क्षेत्र संयोजकका रूपमा काम गरिसकेका छन् ।

पूर्व सिँचाइ मन्त्री तथा संविधानसभाका सदस्यसमेत रहिसकेका यादवको जसपा नेपाल प्रवेशलाई सप्तरीसहित मधेश प्रदेशको समकालीन राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय