सर्लाहीमा वन परियोजनाका चौकीदारको नृशंस हत्या, छुट्टिएको टाउको झाडीमा फेला

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरस्थित सगरमानाथ वन विकास परियोजनामा कार्यरत एक चौकीदारको नृशंस हत्या भएको छ। हत्या गरिएका चौकीदारको शरीरबाट छुट्टिएको टाउको घटनास्थल नजिकै झाडीमा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी निरीक्षक नीतेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले आइतबार घटनास्थलदेखि करिब १०० मिटर उत्तरतर्फ झाडीमा टाउको फेला पारेको हो। परियोजनामा ज्यालादारीमा कार्यरत ४७ वर्षीय रामईश्वर महतोको शव भने यसअघि शनिबार नै फेला परेको थियो। शव भेटिँदा टाउको नदेखिएपछि प्रहरीले खोजी तीव्र पारेको थियो।
प्रहरीका अनुसार घटनामा संलग्न हुन सक्ने आशंकामा एकजना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। घटनाको सूक्ष्म अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ।
स्थानीयका अनुसार शनिबार बिहान जंगलतर्फ रुख काटिएको आवाज सुनेर महतो त्यसतर्फ गएका थिए। दिउँसोसम्म घर नफर्किएपछि आफन्त र परियोजनाका कर्मचारीले खोजतलास गर्दा उनको शव फेला परेको थियो।
घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय