संविधान संशोधन बिना चुनाव अन्यायपूर्ण : उपेन्द्र यादव

जनकपुरधाम, पुस १४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल, मधेस प्रदेश समितीद्वारा आयोजित पार्टीको विशाल जनप्रदर्शन तथा विरोध सभा सोमबार जनकपुरधाम उपमहानगरपालिका- ४ स्थित तिरहुतिया गाछीमा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले, संविधान संशोधन बिना चुनाव गर्नु अन्यायपूर्ण भएको बताउदै उनले भने, विगत ३५ वर्षदेखि देशको शासनसत्ता सम्हाल्दै आएका नेपाली काङ्ग्रेस र कम्युनिस्ट दलहरू देश चलाउन असफल भएको बताएका छन् । यी दलहरूको शासनकालमा जनताले आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता सेवा समेत पाउन नसकेको अवस्था छ, भने देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । एमाले र काङ्ग्रेस नेतृत्वको सरकारले गोली ठोक्ने आदेश दिएकै कारण देशमा ठूलो दुर्घटना भएको उदाहरण दिँदै राज्य सत्ताको दुरुपयोग र गैरजिम्मेवार प्रवृत्तिले लोकतन्त्र कमजोर बनाएको अध्यक्ष यादवले जनाएका छन् । संविधान संशोधन, सुशासन, भ्रष्टाचार निर्मूलन, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र युवालाई रोजगारी सिर्जना गर्नु नै जसपा नेपालको मुख्य राजनीतिक एजेन्डा भएको र मधेसका दीर्घकालीन मुद्दाको समाधान नगरी केवल चुनावमा जानु मधेस र सीमान्तकृत समुदायप्रति अन्याय हुने उनले बताए ।

मधेस आन्दोलनकै उपलब्धिका रूपमा कोटा प्रणाली आएको स्मरण गराउँदै पहिचानको आधारमा प्रदेशको सिमांकन हुनुपर्ने माग उनले दोहोर्‍याए । “मधेस विरोधी वर्तमान संविधान संशोधन तथा पुनर्लेखन नभएसम्म मधेसका विभिन्न जातजाति, समुदायले न्याय पाउन सक्दैनन्,” उनले भने, “त्यसैले जसपा नेपाल संविधान संशोधनको एजेन्डासहित चुनावमा जाने तयारीमा छ ।”

संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद वर्तमान राज्य व्यवस्थाको अपरिहार्य आधार भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई थप सबल बनाउन प्रत्यक्ष कार्यकारी नेतृत्व र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको धारणा उनको रहेको थियो । मधेसका जनताको अधिकार, पहिचान र सहभागिता सुनिश्चित नगरी मुलुकमा स्थायी शान्ति र समृद्धि सम्भव नहुने उनले बताए ।

अध्यक्ष यादवले, संविधानको मर्मअनुसार संघीयताको कार्यान्वयन नहुनु, राज्य संयन्त्रमा समावेशिताको अभाव र सुशासन कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसका विरुद्ध जनस्तरबाट शान्तिपूर्ण दबाब आवश्यक रहेको उनले बताए । मधेस आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्न जनताको एकता र जागरण अपरिहार्य रहेको उहाँको जोड रहेको थियो ।

पार्टीले चुनावभन्दा पहिला संविधान संशोधन र ‘जेन–जी’ (Gen Z) अर्थात् नयाँ पुस्ताका मागहरू सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । साथै, अत्यधिक खर्चिलो र असमान प्रतिनिधित्व गराउने वर्तमान निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने जसपा नेपालको धारणा रहेको छ ।
जसपा नेपालले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव सहित चुनावमा जाने तयारी गरेको छ । देशको करिब ६० प्रतिशत जनसंख्या मधेसमा हुँदाहुँदै पनि राज्य संरचना र बजेटमा १० देखी १२ प्रतिशत प्रतिनिधित्व मात्र हुनु गम्भीर विभेदको भएको पार्टीको ठहर रहेको छ ।

निर्वाचन प्रणाली सुधार र संविधान संशोधनमार्फत मात्रै सबै वर्ग, समुदाय र क्षेत्रको समान प्रतिनिधित्व संसद र सरकारमा सुनिश्चित हुन सक्ने दाबी गर्दै त्यसकै लागि जसपा नेपाल राजनीतिक संघर्ष र चुनावी प्रक्रियामा जाने स्पष्ट संकेत दिएको छ ।

मधेसको अधिकार, पहिचान र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । साथै नागरिक समाजका प्रतिनिधि, बुद्धिजीवी, कर्मचारी, कृषक वर्ग, पत्रकार तथा विभिन्न क्षेत्रका आम जनसमुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई थप सशक्त र अर्थपूर्ण बनाएको थियो ।

विशाल जनप्रदर्शन तथा विरोध सभामार्फत मधेसका ऐतिहासिक संघर्ष, अधिकार र पहिचानलाई संस्थागत गर्दै समतामूलक र समावेशी राज्य निर्माणका लागि एकताबद्ध रूपमा अघि बढ्ने सन्देश प्रवाह गरिएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय