सर्लाही । मधेस प्रदेशका पर्सासहित आठवटै जिल्लामा कार्यरत ३१ जना प्रहरी ‘घुमुवा’लाई जिम्मेवारीबाट हटाइएको छ । ‘घुमुवा’को नाममा असुली र धाकधम्की दिएको गुनासो व्यापक रूपमा आउन थालेपछि यस्तो निर्णय गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो समय मधेसका विभिन्न जिल्लामा ‘घुमुवा’ प्रहरीको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो । सर्वसाधारणदेखि व्यवसायीसमेतबाट अनधिकृत असुली, दबाब र धम्कीको गुनासो बढेपछि संगठनभित्रै शुद्धीकरण अभियान सुरु गरिएको हो ।
यस विषयमा प्रतिक्रिया दिँदै मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलिया ले प्रहरी संगठनलाई पारदर्शी र उत्तरदायी बनाउने लक्ष्यअनुसार कदम चालिएको बताए । हटाइएका ‘घुमुवा’ प्रहरीको गतिविधिबारे थप आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको उनको भनाइ छ ।
प्रदेश प्रहरी कार्यालयले स्पष्ट पारेको छ कि अनुशासनविपरीत काम गर्ने जो–कोही प्रहरी कर्मचारीमाथि कारबाही हुने छ र नागरिकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न नेपाल प्रहरी ले सुधारका कदम निरन्तर अघि बढाउनेछ।



