हतियार बोकेर भारतीय एसएसबी नेपाल प्रवेश, सम्बन्धित निकायलाई जानकारी नै थिएन

सप्तरी । सप्तरीमा भारतीय सुरक्षाकर्मी हतियार बोकेरै नेपाली भूमिमा गस्ती गरिरहेको भिडियो सार्वजनिक भएपछि सीमासुरक्षालाई लिएर गम्भीर प्रश्न उठेको छ । सोमबार साँझ सामाजिक सञ्जालमा फैलिएको भिडियोमा एसएसबी (सीमा सुरक्षा बल) का सहायक उपनिरीक्षक टीसेरिङ नोर्बोको नेतृत्वमा पाँच जनाको टोली राजविराज भन्सार कार्यालय अगाडिको मुख्य सडकमा देखिएको छ ।

भिडियोअनुसार टोलीका कमाण्डर नोर्बोले हतियार बोकेका छन् भने अन्य चार जना सुरक्षाकर्मी लाठीसहित गस्ती गरिरहेका छन्। उक्त स्थानको पूर्वतर्फ करिब पाँच सय मिटरमा नेपाल प्रवेश गर्ने चेकपोइन्ट रहेको छ भने पश्चिमतर्फ तीन सय मिटरमै बोर्डर आउट पोस्ट (बीओपी) तिलाठी अवस्थित छ । यस्तै, घटनास्थलबाट दुई सय मिटरमै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली नियमित जाँचमा खटिएको थियो ।

तर दिउँसै भारतीय सुरक्षाकर्मी हतियारसहित नेपाल प्रवेश गर्दा समेत सुरक्षाकर्मीलाई जानकारी नभएको बताइएको छ । बीओपी तिलाठीका सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले भारतीय सुरक्षाकर्मी भारततर्फकै दशगजा क्षेत्रमा गइरहेका बेला खोला पार गर्न नेपालतर्फको पुल मात्र प्रयोग गरेको दाबी गरे ।

उनका अनुसार बिहानैदेखि नेपाल–भारत दुवै पक्षको संयुक्त टोलीले दशगजामा थुपारिएका गुइँठा, पराल र दाउरा हटाउने काम गरिरहेको थियो । ‘कानुनअनुसार हतियार बोकेर नेपाली भूमिमा प्रवेश गर्न पाइँदैन,’ उनले भने, ‘तर व्यवहारिक रूपमा उहाँहरूले पुल मात्र प्रयोग गरी भारततर्फ फर्किनुभएको हो ।’

यद्यपि हतियारसहित नेपाली भूमिबाट आवतजावत गर्दा सम्बन्धित निकायलाई औपचारिक जानकारी नगरिएको कुरा निरीक्षक राईले स्वीकार गरेका छन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले प्रहरीसँग विस्तृत जानकारी लिने बताएका छन् ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय