सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लामो समयदेखि अलपत्र परेको पूर्व–पश्चिम हुलाकी सडकमा अन्ततः कालोपत्रेको प्रक्रिया अघि बढेको छ। स्थानीयवासीले कात्तिक मध्यतिर अनिश्चितकालीन चक्काजाम गर्दै दबाब सिर्जना गरेपछि निर्माण व्यवसायी काममा जुटेका हुन्।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी तथा इन्जिनियर रन्जितकुमार रायका अनुसार हिजोदेखि सडकमा कालोपत्रेको प्रारम्भिक चरण अन्तर्गत प्राइम हाल्ने काम सुरु गरिएको छ। उनका अनुसार दुई–तीन दिनमै प्राइम हाल्ने काम सकिनेछ भने त्यसपछि प्राइम सुक्न थप केही दिन लाग्नेछ। सबै प्रक्रिया पूरा भएपछि अन्तिम चरणको पिच सुरु गरिनेछ।
मलंगवा बजारको मुख्य क्षेत्रमा करिब ७ सय मिटर सडक अझै अधुरो छ। टावरचोकदेखि झण्डा बजारसम्मको यो खण्ड वर्षौँदेखि निर्माण नहुँदा स्थानीय र यात्रु धुलो र हिलोको सास्ती भोग्दै आएका छन्। इन्जिनियर रायले प्राइम हाल्ने काम पूरा भएसँगै धुलोको समस्या धेरै हदसम्म समाधान हुने बताए।
निर्माण व्यवसायीले पुस १५ भित्र कालोपत्रेको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको पनि रायले जानकारी दिए। मलंगवा बजार क्षेत्रको सडक कालोपत्रेको ठेक्का हिमडुङ एण्ड ठोकर/हिरा एण्ड नमिता जेभीले पाएको हो। यसअघि सडक विभागले पटक–पटक गरी सात पटकसम्म म्याद थप गरिसकेको भए पनि कामले गति लिन सकेको थिएन।
स्थानीयवासी भने यसपटक तोकिएको समयमै सडक निर्माण सम्पन्न हुने आशामा छन्।



