सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। शनिबार बसेको लोसपा सर्लाही जिल्ला समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।
जिल्ला सचिव मिथलेश यादवका अनुसार अध्यक्ष ठाकुर यसअघि सर्लाहीबाट दुई पटक प्रतिनिधि सभा चुनावमा पराजित भएका थिए भने २०७९ सालको निर्वाचनमा महोत्तरी–३ बाट निर्वाचित भएका थिए।
प्रत्यक्षतर्फ सर्लाही–१ बाट लोसपा नेपालका उपाध्यक्ष रामप्रकाश चौधरी, सर्लाही–४ बाट महासचिव मनिष मिश्र र सर्लाही–३ बाट सचिव रामेश्वर रायको एकल नाम सिफारिस गरिएको छ। त्यस्तै सर्लाही–२ बाट भिनुकलाल राय, रञ्जितकुमार ठाकुर र वीरवंश बैठाको नाम केन्द्रमा पठाइएको सचिव यादवले जानकारी दिए।
समानुपातिक उम्मेदवारको सूचीमा अध्यक्ष ठाकुरसँगै अञ्जुदेवी बैठा, मिनादेवी महतो, सरिता देवी साह, सुनिता कुमारी देवी, कामरेन्द्र वर्मा र रेखाकुमार साहको नाम पनि समावेश गरिएको छ। पार्टी केन्द्रले अन्तिम निर्णय गरेपछि उम्मेदवारी टुंगो लाग्ने लोसपाले जनाएको छ।



