सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१ स्थित बेलडाँडामा प्रहरीले विष्फोटक पदार्थ (बारुद) भरिएको एक थान भरुवा बन्दुक बरामद गरेको छ। बनमारा घारीमा लुकाइराखिएको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
स्थानीय एक व्यक्तिमाथि बन्दुकसमेत प्रयोग गरी कुटपिट गरिएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीको नेतृत्वमा प्रहरी टोली चुरेभेगको दुर्गम क्षेत्रमा परिचालन गरिएको थियो। कुटपिटमा संलग्न व्यक्तिको खोजी गर्दै जाने क्रममा घारीभित्र लुकाइएको भरुवा बन्दुक फेला परेको हो।
प्रहरीका अनुसार बन्दुक लुकाउने व्यक्तिको पहिचान भइसकेको छ र उनको खोजी कार्य तीव्र पारिएको छ। घटनामा कुटपिटमा परेका व्यक्ति नमूना अस्पताल हरिवनमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



