बारा । बाराको पचरौत नगरपालिका–स्थित सीमावर्ती बस्ती चिकनीमा आइतबार राति नेपाल प्रहरी र तस्कर समूह बीच गोली हानाहान भएको छ। भारततर्फबाट ट्याक्टरमा लोड गरेर भन्सार छलीका सामग्री नेपाल भित्र्याउँदै गरेको सूचना पाएपछि खटिएको प्रहरीसमूहमाथि तस्करले प्रत्यक्ष आक्रमण गर्दै गोली प्रहार गरेका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय राज पण्डितका अनुसार तस्कर समूहले दुई राउन्ड गोली चलाएपछि आत्मरक्षार्थ प्रहरीले छ राउन्ड फायर गरेको थियो। भिडन्तकै बीच प्रहरीले ट्याक्टर र भन्सार छलीका सामग्री नियन्त्रणमा लिन सफल भए पनि थोरै संख्या रहेको प्रहरीमाथि तस्करले पुनः हमला गर्दै ट्याक्टरसहित सामान भारतको बिन्धवासिनी गाउँतर्फ लगेका थिए।
घटनास्थलबाट चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल, दुई मोबाइल फोन र भारतीय आधार कार्ड फेला परेको प्रहरीले जनाएको छ। गोली प्रहारबाट तस्करपक्षमा के कति क्षति भयो भन्ने यकीन भने हुन सकेको छैन।
नियन्त्रणमा लिएको ट्याक्टरमा के सामग्री लोड गरिएको थियो भन्ने खुल्न बाँकी रहेको प्रवक्ता पण्डितले बताए।
यस घटनाले सीमामा खटिने सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको स्थानीयले बताएका छन्। तस्करी नियन्त्रणका लागि जिम्मेवारी पाएका केही सशस्त्र सुरक्षाकर्मी उल्टै सहयोगी भूमिकामा देखिएको आशंका रातिको घटनाले झनै प्रस्ट पारेको आरोप लगाइन्छ।



