ट्रान्सफर्मर चोरी गिरोह पक्रन महत्त्वपूर्ण भूमिका निभाएका प्रहरी जवान सहनी ‘पुलिस अफ द मन्थ’

सर्लाही । सर्लाहीमा विद्युत ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न विशेष योगदान पुर्‍याएका प्रहरी जवान अजय सहनी ‘कात्तिक महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सहनीलाई सम्मान–पत्र र नगदसहित ‘पुलिस अफ द मन्थ’ प्रदान गरेको हो ।

सञ्चार शाखामा कार्यरत प्राविधिक प्रहरी जवान सहनीले कृषि प्रयोजनका लागि जडान गरिएका ट्रान्सफर्मर श्रृङ्खलाबद्ध रूपमा चोरी गर्ने गिरोहलाई कानुनी दायरामा ल्याउन सक्रिय भूमिका निभाएका थिए । प्रहरीले केही दिनअघि पाँच नेपाली र चार भारतीय सहित नौ जनालाई पक्राउ गर्दै तामाको तार १०३.८ केजी, ५१ थान औजार, दुई वटा ई–रिक्सा र ११ थान मोवाइल समेत बरामद गरेको थियो ।

प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार चोरीका घटनाले किसान मात्र होइन, प्रहरीलाई समेत चुनौतीपूर्ण बनाइरहेको बेलामा सहनीले देखाएको लगनशीलता, इमान्दारिता र कर्तव्यनिष्ठाले अपराध नियन्त्रणमा ठूलो मद्दत पुगेको हो ।

एसपी खड्काले जिल्ला प्रहरी कार्यालयमा आयोजित जिल्लाभरका युनिट इन्चार्जहरूको उपस्थितिमा सम्पन्न मासिक बैठकका क्रममा सहनीलाई सम्मान–पत्र प्रदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले यसअघि असोज महिनामा पनि सञ्चार शाखाकै प्रहरी हवल्दार बिनिता थापालाई ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मान प्रदान गरेको थियो ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय