व्यस्त चोकमै ‘मेड इन इटाली’ पेस्तोलसहित युवक पक्राउ

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४, देउराली चोकबाट सशस्त्र प्रहरीले अत्याधुनिक हतियारसहित एक युवकलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको चेकजाँचमा मेड इन इटाली लेखिएको पेस्तोलसहित दुई पेस्तोल, म्याग्जिन र गोली फेला परेको सशस्त्र प्रहरीले पुष्टि गरेको छ।

इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाअनुसार शनिबार साँझ देउराली चोक हुँदै पैदल हिँडिरहेका युवकलाई शंका लागेपछि सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्ति मकवानपुर, हेटौंडा उप–महानगरपालिका–१३, पदमपोखरीका २२ वर्षीय सुमन आचार्य भएको खुलेको छ।

आचार्यको शरीर र झोलामा गरिएको चेकजाँचमा २ वटा पेस्तोल, २ म्याग्जिन, १३ राउण्ड गोली र एक खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद हतियारमध्ये ‘मेड इन इटाली’ पेस्तोल र ब्राउनिङ मोडेलको पेस्तोल उच्च क्षमताका रहेको बताइएको छ।

सार्वजनिक स्थानमै यति ठूलो मात्रामा हतियारसहित युवक समातिनुले हतियारको स्रोत, आपराधिक संलग्नता र सम्भावित गतिविधिबारे गम्भीर शंका उत्पन्न भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

पक्राउ परेका आचार्यलाई बरामद हतियारसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले हतियार तस्करी, ओसारपसार र सम्भावित अपराध समूहसँगको सम्बन्धका angle बाट अनुसन्धान सुरु गरेको छ।

व्यस्त देउराली चोकमै अवैध हतियार बरामद हुनु सुरक्षा व्यवस्थामाथि ठूलो प्रश्न भएको स्थानीयको प्रतिक्रिया छ। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय