लथालिङ्ग मलंगवा बसपार्क: सञ्चालन अघि बढाउन प्रजिअ कडरियाको पहल

सर्लाही । संघीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधामको ८ करोड ३१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका- २ स्थित आधुनिक सुविधा सम्पन्न बसपार्क वर्षौंदेखि लथालिङ्ग अवस्थामा अलपत्र परेको छ । तर बसपार्क तत्काल सञ्चालनमा ल्याउन आवश्यक कदम चाल्दै सबै सरोकारवालाहरूसँग छलफलका लागि छिटै बैठक बोलाउने तयारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन् ।

प्रजिअ कडरियाका अनुसार, पुरानो बसपार्क रहेको जग्गा कृषि विकास बैंक लिमिटेडको नाममा दर्ता कायम रहेको र सो जग्गामा बैंकको आफ्नै भवन निर्माणका लागि बजेट समेत स्वीकृत भइसकेको हुँदा अब नयाँ बसपार्क सञ्चालन अनिवार्य बनेको हो । यात्रुहरूलाई व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न सेवा उपलब्ध गराउन सके मलंगवाको यातायात तथा व्यापारिक गतिविधि समेत थप सुदृढ हुने अपेक्षा गरिएको उनले बताए । सहयोग, सहकार्य र प्रभावकारी समन्वयको माध्यमबाट मलंगवा बसपार्क चाँडै पूर्ण रूपमा सञ्चालनमा आउने वहाँको धारणा रहेको छ ।

रामकविर मठले उपलब्ध गराएको २५ रोपनी क्षेत्रफलमा संघीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधामको ८ करोड ३१ लाख रुपैयाँको लागतमा कनकाई इन्टरनेसनल बिल्डर्स, सुरुङ्गा–झापाले निर्माण गरेको उक्त बसपार्कमा साढे दुई तले टर्मिनल भवन, यात्रु प्रतीक्षालय, खानेपानी, सार्वजनिक शौचालय, वर्कसप क्षेत्रलगायतका आधुनिक सुविधा उपलब्ध छन् । एकैपटक ५२ वटा ठूला तथा २० वटा साना सवारीसाधन पार्किङ गर्न सकिने यस बसपार्कको क्षमता रहेको छ ।

निर्माण सम्पन्न भएर वर्षौँ बितिसक्दा पनि बस व्यवसायीबीचको आन्तरिक मनमुटावका कारण बसपार्क सञ्चालनमा आउन सकेको छैन । भने सर्लाही प्रशासनले बसपार्क सञ्चालनलाई उच्च प्राथमिकता दिँदै
सरोकारवालाहरूसँग छलफलका लागी छिट्टै बैठक बस्ने तयारी भएको प्रजिअ कडरियाले स्पष्ट पारे ।

निर्माण सम्पन्न पश्चात् २०७९ माघ ४ मा संघीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधामले मलंगवा नगरपालिकालाई बसपार्क हस्तान्तरण गरेको थियो । लगत्तै २०७९ फागुन १ मा नगरप्रमुख नागेन्द्र प्रसाद यादव र तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रूपमा बसपार्कको उद्घाटन गरेका थिए । तर उद्घाटनपछि पनि बसपार्क अलपत्र रहँदै आएको अवस्थामा अब सर्लाही प्रशासनको सक्रिय पहलले बसपार्क संचालन चाँडै सम्भव हुने अपेक्षा गरिएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय