रौतहट । रौतहटको फतुवा–बिजयपुर क्षेत्रमा प्रहरीको संरक्षणमा अवैध कौडा जुवा धन्दाले खुलेआम जरा गाडिरहेको तथ्य बाहिर आएको छ। स्थानीय स्रोतका अनुसार इलाका प्रहरी कार्यालय बिजयपुरका इन्सपेक्टर सुरेन्द्र यादव र सशस्त्र प्रहरी बेस क्याम्प बिजयपुरका इन्सपेक्टर विकास श्रेष्ठको प्रत्यक्ष संलग्नतामा पछिल्लो एक महिनादेखि कौडा जुवाको कारोबार झनै फस्टाएको छ।
गत दशैँदेखि शिवशंकर यादव, शिवशंकर साह सोनार (कटहरिया–५) र चन्द्रकिशोर कुशवाहा (कटहरिया–२ जमुनिया) को संयुक्त पहलमा बिजयपुर–लक्ष्मिनिया मुसहरी टोलमा नियमित रूपमा कौडा जुवा सञ्चालन हुँदै आएको स्थानीयहरूको आरोप छ।
उनीहरूका अनुसार जुवा चल्नेदेखि सुरक्षा व्यवस्था मिलाउने कामसम्म प्रहरी, सशस्त्र प्रहरी र गरुडाबाट खटिएका घुमुवा प्रहरीको सक्रिय भूमिका देखिएको छ।
दैनिक लाखौँको चलखेल, प्रहरी–पत्रकारको नाममा उठाइने ‘हिस्सा’
जुवा प्रायः दिउँसो १ बजेदेखि साँझसम्म गोविन्द देव माझीको घरमा चल्ने गर्छ भने कहिलेकाहीँ रातभर शिवशंकर यादवको घरमा पनि खाल जमाइन्छ।
एक जुवाडेले नाम गुप्त राख्ने सर्तमा भनेका छन्,
“जितेको रकमबाट १० प्रतिशत कमीशन काटिन्छ। अतिरिक्त दैनिक करिब १५ हजार रुपैयाँ ‘प्रहरी–पत्रकारको हिस्सा’ भनेर उठाइन्छ।”
स्थानीयका अनुसार जुवा खालमा रौतहटका राजापुर, नरकटीया, कटहरिया, बालचनपुर, बिजयपुरका साथै भारतका बरियारपुर, बघवन, गंजभवानीपुरसम्मका जुवाडेहरू भेला हुन्छन्। दैनिक लाखौँ रुपैयाँको हारजित हुने भएपछि जुवाडेहरू सीमा–पारि र सीमा–भित्रबाट निर्बाध आवतजावत गर्ने गरेको बताएका छन्।
उजुरी दर्जनौँ, कारबाही शून्य
स्थानीयले पटक–पटक मौखिक उजुरी गर्दासमेत कुनै कदम नचालिएको भन्दै प्रहरी–प्रशासनको साँठगाँठ भएकै कारण ठूलो अवैध जुवा धन्दाले जरो गाडेको आरोप लगाएका छन्।
“प्रहरीकै आशीर्वाद नभएको भए यस्तो जुवा एक दिन पनि टिक्दैन,” उनीहरूले गुनासो गरेका छन्।
प्रहरी प्रमुखको प्रतिक्रिया
यसबारे जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले भने,
“घटनाबारे जानकारी लिएका छौँ। वास्तविक तथ्य बुझेर आवश्यक कारबाही हुन्छ। गैरकानुनी गतिविधि कुनै हालतमा सह्य हुने छैन।”
तर स्थानीयको प्रश्न सोही छ—
“प्रहरीकै मिलेमतोमा चल्ने जुवा कसरी रोकिन्छ?”



