सर्लाही । सर्लाहीको लालबन्दीमा प्रहरीले सोमबार बिहानै गरेको ‘ट्याकडाउन’ अभियानमा ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ । चुरेवर्ती क्षेत्रबाट गाँजा ओसारपसार हुँदै गरेको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारी नेतृत्वको टोली आइतबार रातिदेखि नै निगरानीमा बसेको थियो ।
सोमबार बिहान करिब ५ बजेतिर लालबन्दी नगरपालिका–६ स्थित शिव मन्दिरनजिकैबाट ३८ किलो ८९० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ । लखन्देही खोलाको भित्री बाटो हुँदै ल्याइँदै गरेको गाँजा अटो र मोटरसाइकल दुवैबाट बरामद भएको हो ।
घटनामा संलग्न हरिवन नगरपालिका–१, पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठ अटोमा सवार अवस्थामा पक्राउ परेका छन् । प्रदेश–२–०३००१ ह ३२८ नम्बरको अटोबाट एक पोका तथा ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट छ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार व्यक्ति भने फरार छन्, र उनको खोजी तीव्र बनाइएको प्रहरीले बताएको छ ।



