सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका –२ स्थित संग्रामपुरबाट प्रहरीको विशेष अपरेसनमा दुई जना भारतीय नागरिक प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा भएको कारबाहीका क्रममा तशिफ शेखले लगाएको अन्डरवेयर भित्र लुकाइ छिपाई राखिएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तशिफ शेख र फरहान राजा दुवै भारतको बिहार, सितामढी क्षेत्रका बासिन्दा हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू नेपाल – भारत सीमाक्षेत्र हुँदै लागू पदार्थ ओसारपसारमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ ।
बरामद गरिएको पदार्थको प्रकृति र संलग्नताको विषयमा थप प्राविधिक परीक्षण तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूलाई अदालतको अनुमति लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।



