फरार कैदीले ‘पीडित’ प्रेमिकासँग मन्दिरमै गरे विवाह, दुलहीसहित जेल हाजिर

सप्तरी । बलात्कारको मुद्दामा जेल सजाय भोगिरहेका एक कैदीले फरार भएपछि आफ्नै पीडित भनिएकी किशोरीसँग विवाह गरी पुनः कारागारमा आत्मसमर्पण गरेको घटना सार्वजनिक भएको छ।

महादेवा गाउँपालिका–४ का २४ वर्षीय शत्रुघन मुखिया गत भदौ २५ गते राजविराजस्थित कारागारबाट फरार भएका थिए। उहाँ कारागारबाट निस्केको भोलिपल्टै स्थानीय कमलामाई मन्दिरमा सोही किशोरीसँग विवाह गरेको बताइएको छ। गाउँका समाजसेवीको रोहबरमा विवाह सम्पन्न भएको थियो।

विवाहपछि मुखिया असोज १९ सम्म दुलहीको घरमै बस्दै आएका थिए। सरकारले फरार कैदीलाई २० असोजभित्र फर्कन सूचना जारी गरेपछि उनले सोही दिन नयाँ दुलहीसहित कारागार कार्यालय सप्तरीमा उपस्थित भई आत्मसमर्पण गरे।

दुई वर्षअघि सोही किशोरीसँग सहमतिमै प्रेम सम्बन्ध रहेको दाबी गर्दै शत्रुघनले बलात्कार नभई प्रेमसम्बन्धका कारण मुद्दा परेको बताएका छन्। तर बालिका उमेर नपुगेको र पीडित पक्षको उजुरीका आधारमा सप्तरी जिल्ला अदालतले उनलाई जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय सुनाएको थियो।

विवाह गरेकी ती किशोरीले पनि घटनाको मूल कारण पारिवारिक अस्वीकार भएको बताइन्। “प्रेममा थियौँ, तर घरमा मानिएन। बुवाले उजुरी गरेपछि उनी जेल परे,” दुलहीले भनिन्, “गाउँले जे भने त्यही कागजमा सही गरें, अहिले डेढ महिनाको गर्भवती छु।”

कारागार प्रशासनका अनुसार मुखियालाई अझ करिब १० वर्ष सजाय काट्न बाँकी छ। कारागार प्रमुख गंगालाल योगीले फरार भए पनि स्वेच्छाले फर्किनु सकारात्मक कदम भएको बताए।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय