हरिपुर्वा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट प्रयास, कार्यालयको सामान तोडफोड

सर्लाही । हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहमाथि बुधबार साँझ लालबन्दीमा आक्रमणको प्रयास गरिएको छ। पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी बजारमा रहेको अधिकृत साहको बसोबासस्थलमा पुगेका स्थानीय र केही वडाध्यक्षले ती दुबैलाई निशाना बनाउँदै तोडफोड गरेका हुन्।

आक्रोशित समूहले मेयर र प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीबाटै गोप्यरूपमा नगरपालिका कार्यालय सञ्चालन गरी अनियमितता गर्दै आएको, जनताको समस्या बेवास्ता गरेको आरोप लगाएका थिए। आक्रमणको क्रममा टेबल, कुर्सी र अन्य सामग्री भाँचिएका छन्।

मेयर र अधिकृतलाई जोगाउने क्रममा वडा नं. ६ का अध्यक्ष सामसोगारथ राय यादव घाइते भएका छन्। उनको नाक र आँखामा सामान्य चोट लागेको बताइएको छ। घटनाले उग्र रुप लिँदै जाँदा इलाका प्रहरी कार्यालय लालबन्दीबाट आएको प्रहरी टोलीले स्थितिलाई नियन्त्रणमा ल्याएको र हातापाइ हुन नदिएको प्रहरी स्रोतले जनाएको छ।

हरिपुर्वा–८ का वडाध्यक्ष रामेश्वर रायले प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमा बस्दै सबै कागजात बोकेर त्यहींबाट पालिका सञ्चालन गरेको आरोप लगाए। उनीहरूले ठेक्का, कर्मचारी नियुक्ति तथा कागजी प्रक्रिया चन्द्रनिगाहपुरका व्यक्तिहरूलाई फाइदा हुनेगरी गर्ने गरेको दाबी पनि गरे।

तर नगरप्रमुख साहले भने जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी र कागजात नष्ट भएपछि सेवा सञ्चालनका विषयमा छलफल चलिरहेको बेला पूर्वनियोजित रूपमा भीड ल्याएर अराजकता सिर्जना गरिएको दाबी गरे। उनले जेनजी आन्दोलनमा संलग्न केही व्यक्तिहरू नै आजको घटनामा समेत उत्रिएको आरोप लगाए।

स्थानीयहरूका अनुसार हरिपुर्वा नगरपालिका नेतृत्वले लामो समयदेखि लालबन्दीमा गोप्यरूपमा बसेर कार्य गर्दै आएको र यो विषयमा पटक–पटक गुनासो उठिरहेकाले आजको घटना उत्पन्न भएको बताएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय