चमेलीमाई मन्दिरमा आर्थिक अनियमितताको आरोप, स्थानीय युवाहरूले मागे छानबिन

सर्लाही । सर्लाहीको ऐतिहासिक तथा श्रद्धाको केन्द्रका रूपमा चिनिने चमेलीमाई मन्दिरमा आर्थिक अनियमितता र रकम दुरुपयोग भएको आरोप स्थानीय युवाहरूले लगाएका छन्। उनीहरूले मन्दिर व्यवस्थापन समितिको कार्यशैलीमा प्रश्न उठाउँदै तत्काल छानबिनको माग गरेका छन्।

आइतबार मन्दिर परिसरमै आयोजित पत्रकार सम्मेलनमा युवाहरूले मन्दिरको आय–व्यय सार्वजनिक नगर्ने, रकम व्यक्तिगत खातामा राख्ने र पारदर्शिता नअपनाउनेजस्ता आरोप व्यवस्थापन समितिमाथि लगाएका थिए।

स्थानीय युवा दिपक कुमार यादवका अनुसार, “मन्दिरको वार्षिक आम्दानीको कुनै स्पष्ट लेखाजोखा छैन। समितिका केही सदस्यहरूले रकम आफ्नै खातामा राख्ने गरेको कुरा खुल्न थालेको छ।” उनका भनाइअनुसार समितिको नाममा आउने सहयोग र दानको रकम समेत जनतासामु स्पष्टरूपमा प्रस्तुत गरिएको छैन।

त्यस्तै, मन्दिरका पुजारी जयबिर झाले पनि लेखाजोखा प्रणाली अस्पष्ट भएको स्वीकार गर्दै भने, “दक्षिणा मन्दिरमै जम्मा हुन्छ, पछि बैंकमा राखिन्छ, तर यसको अभिलेख स्पष्ट छैन।”

रसिद काट्ने एक कर्मचारीले भने, आफूले केही रकम राखेको स्वीकार गर्दै “पदाधिकारीहरूको बैठकपछि सबै विवरण सार्वजनिक गरिने” बताएका छन्।

मन्दिरमा फोहोरको समस्या, सरसफाइ र सौचालयको अभाव, साथै भौतिक सुधारमा बेवास्ता गरिएको गुनासो पनि स्थानीयहरूले गरेका छन्। उनीहरूका अनुसार, धार्मिक आस्थाको प्रतीक मन्दिर दिनहुँ भक्तजनले भरिए पनि व्यवस्थापन पक्ष बेपरवाह बनेको छ।

 

युवाहरूले चेतावनी दिँदै भनेका छन् —

 

“मन्दिरको भित्तामा उल्लेखित दक्षिणा दरभन्दा बढी रकम असुल गर्ने र जनतालाई हिसाब नदेखाउने कार्य अस्वीकार्य छ। सम्बन्धित निकायले तत्काल छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्छ।”

स्थानीय स्तरमै मन्दिरको सम्पूर्ण आर्थिक गतिविधि र समितिको कार्यशैली पुनः मूल्यांकन गर्न माग गर्दै उनीहरूले मन्दिरलाई श्रद्धा मात्र होइन, जनविश्वास र पारदर्शिताको प्रतीक बनाउन जोड दिएका छन्।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय