काठमाडौं । नेपाल सरकारले प्रहरी संगठनभित्र ठूलो स्तरको सरुवा र बढुवा प्रक्रिया अघि बढाएको छ। अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई मानव स्रोत तथा प्रशासन विभागमा, र कार्य विभागमा रहेका एआईजी शिद्धिबिक्रम शाहलाई प्रहरी एकेडेमीमा सरुवा गरिएको छ।
यी दुवै विभाग केही समयदेखि निमित्त नेतृत्वमा सञ्चालन हुँदै आएका थिए। सरुवासँगै संगठनमा लामो समयदेखिको प्रशासनिक रिक्तता केही हदसम्म समाप्त हुने देखिएको छ।
यससँगै, नेपाल प्रहरीका चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी अन्तिम चरणमा पुगेको छ। अघिल्लो साता बढुवा सिफारिस सूचीमा परेका डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई यही साता पदस्थापन गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।
आगामी मन्त्रिपरिषद् बैठकले उनीहरूको बढुवा र विभागीय जिम्मेवारी टुंगो लगाउने अपेक्षा गरिएको छ। हाल प्रशासन, कार्य, अपराध अनुसन्धान, र प्रदेश समन्वय विभागहरू रिक्त रहेका छन्, जसमा नयाँ एआईजीहरू पदस्थापन हुनेछन्।
त्यस्तै, बढुवामा पर्ने दुई डीआईजी हाल प्रदेशमा कार्यरत रहेका कारण ती स्थानमा नयाँ डीआईजी पठाउने तयारी पनि भइरहेको छ। मधेश प्रदेशका लागि डिआईजी विनोद घिमिरे र ओम रानाबीच प्रतिस्पर्धा तीव्र बनेको स्रोतले जनाएको छ।



