सर्लाही । शुक्रबार रातिदेखिको अविरल वर्षाले सर्लाही जिल्लाका विभिन्न क्षेत्र डुबान र कटानको समस्यामा परेका छन्।
लखन्देही नदीले ठाउँ–ठाउँमा तटबन्ध कटान गरेपछि डुबानको समस्या सुरु भएको स्थानीयले बताएका छन्। कतिपय स्थानमा वर्षाको पानी निकास नपाउँदा दर्जनौँ घरभित्र पानी पसिसकेको छ।
कौडेना गाउँपालिका–७ शिवनगरमा लखन्देही खोलाले बाँध कटान गर्न थालेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। आइतबार बिहान प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको टोलीले स्थल निरीक्षण गरेको छ।
स्थानीयहरुका अनुसार, शिवनगर गाउँमा वर्षा हुँदा पटक–पटक यसरी तटबन्ध कटान भएर गाउँ डुबानमा पर्नेजस्तो अवस्था बर्सेनि दोहोरिन्छ।
त्यस्तै, भारतीय सीमातर्फको अग्लो सडकका कारण पानी निकास नपाउँदा सदरमुकाम मलङ्गवाको मुख्य नाका, प्रहरी चौकी गोरखकाली र भन्सार कार्यालय समेत डुबानमा परेका छन्।
बरहथवा नगरपालिका–७ मा सोती खोलाको पानी पस्दा १० घरका मानिसलाई बजारस्थित टहरामा सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिनुभयो।
डुबानका कारण बसबरिया गाउँपालिका–२ धावटोलका रामसुरत सहनी र सुनिता सहनीलाई उद्धारको तयारी भइरहेको पनि डिएसपी राईले बताउनुभयो।
बरहथवा–१६ मा टिकुलिया खोलाको बहाव बढेसँगै पासवान र यादव बस्ती जोखिममा परेका छन्। मनुष्मारा खोलाले धनकौल गाउँपालिका–३ र ४ हुँदै रौतहटतर्फ जाने सडक दुई किलोमिटरभन्दा बढी कटान गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
झिम खोलाले ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवननगरमा बाँध कटान गरिरहँदा जोखिम बढेको छ।
कौडेना गाउँपालिका–३ र ५ का १० भन्दा बढी घर डुबानमा, र चक्रघट्टा गाउँपालिका–५ मा १७ घरधुरी र इलाका प्रहरी कार्यालय जलमग्न भएका छन्।
हरिवन नगरपालिका–११ चिनमी मिल क्षेत्रमा पनि निकास नपाउँदा ४० भन्दा बढी घरमा पानी पसेको स्थानीय सुरेश भट्टराईले बताएका छन्।
त्यस्तै, अविरल वर्षापछि प्रहरी चौकी मोहनपुर र गोडैता का पर्खालहरू भत्किएका छन्। कविलासी नगरपालिका–८ अगर्वामा १४ घर डुबानमा परेका छन्।
कविलासी नगरपालिका–२ पिपरियामा घरको पर्खाल भत्किँदा ९ वर्षीया शिवानी सिंह घाइते भएकी छन्। उनको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ।
लगातार वर्षा आइतबार बिहान रोकिएपछि जनजीवन केही सामान्य बनेको छ। तर बिजुली आपूर्ति अनियमित बनेको छ र कतिपय स्थानमा मोबाइल नेटवर्क बन्द हुँदा सञ्चारमा समस्या देखिएको छ।
संघीय राजधानी काठमाडौंतर्फका सवारी साधन अवरुद्ध भए पनि स्थानीय रुटका गाडी भने निर्वाध सञ्चालन भइरहेका छन्।



