सर्लाही । नागरिकतासम्बन्धी गम्भीर आरोपमा प्रहरीले सर्लाहीको सीमावर्ती पर्सा गाउँपालिकाका वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
चार जना व्यक्तिलाई झुठो वतन र विवरण पेश गरी नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा पर्सा गाउँपालिका – ४ का वडाध्यक्ष सुवोध राय यादव पक्राउ परेका हुन् ।
सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार वडाध्यक्ष यादवको सिफारिसका आधारमा केही शंकास्पद व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् भने केहीले लिन खोजिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्रोतका अनुसार यादवले भारतीय नागरिकलाई समेत सिफारिस गरेको पाइएको छ । यद्यपि, प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यादवविरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट १५ दिनको म्याद लिई अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।
४६ वर्षीय यादव गत स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित भएका थिए।
सर्लाही सहित तराई–मधेशका जिल्लामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भारतीय नागरिकले समेत नेपाली नागरिकता प्राप्त गर्ने गरेका गुनासो समय – समयमा आउने गरेको छ ।



