काठमाडौ । जेनजी आन्दोलनको प्रभाव राजधानीको सुरक्षा निकायमा देखिएको छ। आन्दोलनपश्चात् काठमाडौं प्रहरी परिसरमा प्रमुखदेखि वृत्तसम्म व्यापक नेतृत्व फेरबदल गरिएको हो।
परिसरको प्रमुखमा एसएसपी रमेश थापालाई जिम्मेवारी दिइएको छ। यसअघि प्रमुखका रूपमा कार्यरत एसएसपी विश्व अधिकारीलाई हटाइएपछि थापाले पदभार ग्रहण गरेका हुन्। त्यस्तै, परिसरमा कार्यरत दुवै एसपी अपिलराज बोहरा र कुलदिप चन्दलाई सरुवा गरी पाल्पामा प्रहरी प्रमुखका रूपमा रहेर काम गर्दै आएका एसपी पवन भट्टराईलाई काठमाडौं ल्याइएको छ। भिड नियन्त्रणमा दक्ष अधिकृतका रूपमा परिचित भट्टराईलाई आन्दोलनपश्चात् उत्पन्न परिस्थितिलाई नियन्त्रणमा राख्ने जिम्मेवारी दिइएको हो।
यससँगै उपत्यकाका वृत्तहरूमा पनि ठूला स्तरमा फेरबदल गरिएको छ। बुधबार ९० जना डिएसपीको सरुवा हुँदा काठमाडौं उपत्यकाका छ वटा वृत्तमा नयाँ प्रमुख तोकिएका छन्। दरबारमार्ग वृत्तमा नारायण डाँगी, स्वयम्भुमा मोहनमणि अधिकारी, बौद्धमा सन्तोष रोका, जगातीमा चञ्चला श्रेष्ठ, मालीगाउँमा धनबहादुर बोहरा र गौशालामा प्रकाश श्रीमल खटाइएका छन्।
नगर प्रहरी तर्फ पनि परिवर्तन भएको छ। काठमाडौं परिसरमा कार्यरत डिएसपी प्रल्हाद कार्कीको सरुवा भएसँगै नगर सुरक्षाको जिम्मेवारीमा पनि नयाँ अनुहार आएका छन्।
आन्दोलनपछिको संवेदनशील वातावरणलाई ध्यानमा राख्दै गरिएको यस व्यापक हेरफेरलाई प्रहरी नेतृत्वले राजधानीको सुरक्षा व्यवस्थापन मजबुत पार्ने रणनीतिक कदमका रूपमा लिएको बताइएको छ।



