सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा प्रहरीले ५५ केजी भन्दा बढी गाँजा बरामद गरेको छ। गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको विशेष सूचनाका आधारमा मंगलबार साँझ संयुक्त प्रहरी टोली खटिएको थियो । ईश्वरपुर नगरपालिका–१२, घारीबथानका ३२ वर्षीय संजिव भुजेल पक्राउ परेका हुन् ।
उनलाई पूर्व–पश्चिम राजमार्गको दोस्रो लचक नजिकै सडक किनारमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा चेकजाँच गरिएको प्रहरीले जनाएको छ । त्यही स्थानमा परालले छोपेर लुकाइएका तीन बोरा भेटिएका थिए। बोरा खोलेर हेर्दा करिब ५५ केजी २२० ग्राम गाँजा फेला परेको हो ।
बरामद गाँजा सहित भुजेललाई इलाका प्रहरी कार्यालय केशरगञ्जमा राखी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्लाही जिल्ला अदालतले उनलाई ७ दिन थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना स्थल इलाका प्रहरी कार्यालय केशरगञ्जबाट करिब १० किलोमिटर पूर्व–उत्तरमा पर्छ ।



