धनुषा । धनुषा जिल्लामा मोबाइल पसल फोडी करिब १० लाख रुपैयाँ बराबरका सामग्री चोरी गर्ने तीन सदस्यीय गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाधाम नगरपालिका–८, केसरकट्टीका राजकुमार साहको ‘राजकुमार मोबाइल पसल’ मा भदौ ६ गते राति करिब १ः४५ बजे चोरी भएको थियो। अज्ञात व्यक्तिहरूले पसलको शटरको ताला फोडी पसलभित्र प्रवेश गरी ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, ५ डब्बा टेम्पर ग्लास, ५ थान देवाल घडी, १५५ थान हाते घडी, ६ थान टर्च तथा नगद ९८ हजार ७ सय ६५ रुपैयाँ चोरी गरेका थिए।
चोरी भएको सम्पत्तिको मूल्य करिब १० लाख रुपैयाँ पुग्ने प्रहरीको अनुमान छ। घटनापछि पसलमा जडान गरिएको सीसीटीभी फुटेजको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले भदौ ११ गते तीन जना संलग्नलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
पक्राउ परेकाहरूको घर र लुकाइएको स्थानबाट १२ थान मोबाइल, घडी, क्यामेरा स्ट्यान्ड, मोबाइल चार्जर, लेन्सलगायत चोरीका सामग्री समेत बरामद गरिएको छ। पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–७ का २० वर्षीय अर्जुन मुखिया, सोही स्थानका १९ वर्षीय सिकेन्द्र पासवान र वडा नं. ५ का २२ वर्षीय कृष्ण मण्डल रहेका छन्।
उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।



