सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय अगाडिबाट बिहीबार साँझ मोटरसाइकल चोरी भएको छ ।
बलरा नगरपालिका–८, गडहियाका लाल बाबु रायको नाममा दर्ता भएको बि.आर. ०६ बिएल ३९३५ नम्बरको मोटरसाइकल कार्यालय अगाडि पार्किङ गरी राखिएको अवस्थामा हराएको हो । साँझ करिब ४ देखि ५ बजेको बीचमा कार्यालय पुगेका राय फर्कदा मोटरसाइकल देखिएन ।
मोटरसाइकल चोरी भएपछि उनले तत्कालै प्रहरीमा खोजिदिन निवेदन दिएका छन् ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय परिसर सेवाग्राहीका मोटरसाइकल चोरी हुने थलो बन्दै गएको स्थानीयले बताएका छन् । तर पनि त्यहाँ अझैसम्म सिसिटिभी क्यामेरा जडान नगरिनु सेवाग्राहीप्रति बेवास्ता भएको उनीहरूको भनाइ छ ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।



