सर्लाही । रौतहटको वृन्दावन नगरपालिका–९ स्थित आंकर पाथर टोलमा सैलेन्द्र राउत कुर्मीको खेतबाट चोरी भएको ट्याक्टर दुई दिनपछि सर्लाहीमा फेला परेको छ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, साउन ८ गते राति करिब १ बजे मधेश प्रदेश–२, दर्ता नम्बर ०३-००१ त १९२४ को ट्याक्टर चोरी भएको थियो। चोरी भएको ट्याक्टर साउन १० गते सर्लाहीको फेन्हरा क्षेत्रमा रोटाभेटरबिना फेला परेको जानकारी प्रहरीले दिएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न दुई जनालाई पनि सर्लाहीबाट पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरु सर्लाही जिल्ला बरहथवा नगरपालिका–३ का १९ वर्षीय बिजिन्द्र दास र वडा नं. ७ का २६ वर्षीय विनोद पंडित हुन्।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले दुवैमाथि डाँका चोरीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिनुभयो।



