रौतहट सुटकेस हत्याकाण्ड : प्रमुख अभियुक्त लक्ष्मण पासवानको मृत्यु

रौतहट । रौतहटको माधव नारायण नगरपालिका–६ माधोपुरकी रुबी साह हत्याकाण्डका प्रमुख अभियुक्त लक्ष्मण पासवानको मृत्यु भएको छ । जलेको अवस्थामा फेला परेका उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । उपचारकै क्रममा बुधबार साँझ उनको मृत्यु भएको हो ।

पासवानले शरीरमा आफैं आगो लगाउनु अघि करिब नौ मिनेटको भिडियो सन्देश छोडेका थिए । उक्त भिडियोमा उनले रुबी साहको हत्या गरेको स्वीकार गरेका थिए । साथै रुबीकी आमा नै घटनाकी मुख्य दोषी रहेको दाबी पनि गरेका थिए ।

गत आइतबार गौरमा सुटकेसभित्र रुबीको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको सुई लक्ष्मणतिर गएपछि प्रहरी खोजीमा लाग्दा उनी आफ्नै गाउँको खेतमा जलेको अवस्थामा भेटिएका थिए ।

भिडियोमा पासवानले रुबीसँग कक्षा १० पढ्दा प्रेम भएको र दुवैले सर्लाही जिल्ला अदालत र भारतको सीतामढी अदालतमा कार्ट म्यारिज गरेको दाबी गरेका छन् । तर दुवै परिवारले विवाह स्वीकार नगरेकाले समस्या सुरु भएको उनको भनाइ थियो ।

रुबीकी आमा धनी परिवारसँग विवाह गराइदिएको भन्दै पासवानले पीडा पोखेका थिए । “हामी गरीब भएकै कारण रुबीलाई धनीमानीसँग विवाह गराइयो,” उनले भिडियोमा भनेका छन् । साथै हत्या भएको रात दुवैले सँगै मर्ने निर्णय गरेको उल्लेख गरेका थिए ।

प्रहरी अनुसन्धानमा पासवानको आपराधिक पृष्ठभूमि पनि खुलेको छ । करिब १४ वर्षअघि उनले रुबीलाई अपहरण गरेको आरोपमा पक्राउ परेका थिए । अपहरण र मानव बेचबिखनको मुद्दामा उनी १७ दिनसम्म हिरासतमा बसेको प्रहरीले जनाएको छ ।

यससँगै रुबी साह हत्याकाण्ड नयाँ मोडमा पुगेको छ । प्रहरीले अब घटनामा अन्य संलग्नताको विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय