सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा व्यापक इन्धन खर्च अनियमितता भएको महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले देखाएको छ।
प्रतिवेदन अनुसार गाउँपालिका अध्यक्ष राजकुमार महतोले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको सुविधासम्बन्धी ऐन, २०७७ विपरीत तोकिएको परिमाणभन्दा दोब्बर बढी इन्धन खर्च गरेका छन्। ऐनले वार्षिक १,२०० लिटर (मासिक १०० लिटर) मात्र व्यवस्था गरे पनि महतोले एक वर्षमा २,३३४ लिटर प्रयोग गरेको पाइएको छ। यो तोकिएको भन्दा १,१३४ लिटर बढी हो, जसको मूल्य करिब १ लाख ८७ हजार रुपैयाँ बराबर हुन्छ।
महालेखाले यसलाई नियम विपरीतको खर्च ठहर गर्दै पालिकाको वित्तीय अनुशासनमाथि प्रश्न उठाएको छ। स्थानीय बुद्धिजीवीहरूले यसलाई नेतृत्वमा जवाफदेहिताको कमी भएको उदाहरणका रूपमा लिएका छन्।
स्थानीय बासिन्दाहरूले करको पैसा दुरुपयोग भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले अनियमित खर्च असुलउपर गर्न र पदाधिकारीलाई जवाफदेही बनाउन माग गरेका छन्। तर अध्यक्ष महतो वा पालिकाबाट भने यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
यसअघि पनि महतो विवादमा तानिएका थिए। केही महिनाअघि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाललाई असहजता देखाउँदै सरुवा गराएको घटनामा उनी आलोचित बनेका थिए। पालले अध्यक्ष महतोले अवैधानिक काम गर्न दबाब दिएको र त्यसमा सहमत नहुँदा सरुवा गरिएको आरोप लगाएका थिए।
स्थानीयले अहिले देखिएको इन्धन खर्च अनियमिततालाई पनि त्यही प्रवृत्तिको निरन्तरता भन्दै, सरकारी स्रोतको दुरुपयोग रोक्न निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन्।




