सर्लाही । सर्लाही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा सुजित कुमार यादव वैधानिक नभएको भन्दै जिल्ला अदालत सर्लाहीमा रिट दर्ता भएको छ ।
स्ववियु सदस्य अकाश कुमार यादवले दायर गरेको निवेदनमा सुजित यादवले वि.वि.एस. चौथो वर्षको अन्तिम परीक्षा दिइसकेकाले क्याम्पस विधानअनुसार उनको पद आपसै समाप्त भएको दाबी गरिएको छ । तर, उनी अझै पनि सभापति बनेर निर्णय गर्दै आएको भन्दै अदालतमार्फत रोक लगाउन माग गरिएको अकाशले बताएका छन् ।
अकाशले दायर गरेको निवेदनमा सचिव रौशन कुमार यादव, कोषाध्यक्ष नितु कुमारी, सदस्य प्रेम प्रविन यादव, सनरचना यादव, उमेश यादव र चन्दा कुमारीलाई समेत विपक्षी बनाइएको छ ।
तर, सभापति यादवले भने आफू अझै वैधानिक रूपमा नै पदमा रहेको दाबी गरेका छन् । उनका अनुसार सर्लाही क्याम्पसमा भएको निर्वाचन त्रिभुवन विश्वविद्यालयको निर्वाचन निर्देशिका अनुसार सम्पन्न भएको हो र सोही आधारमा आफू जिम्मेवारी सम्हालिरहेको बताएका छन् ।



