सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखामा बिहीबार मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ ।
पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एचपी ५५ एसी ६१०५ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा चालक ईश्वरपुर नगरपालिका–७, पोखरी टोलका २४ वर्षीय अमनदीप राम गम्भीर घाइते भएका थिए ।
बिहीबार दिउँसो भएको दुर्घटनापछि उपचारका लागि बारास्थित एलएस न्यूरो अस्पताल लगिएका रामको साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि बारामै राखिएको र मोटरसाइकल इलाका प्रहरी कार्यालय भक्तिपुरको नियन्त्रणमा रहेको सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए ।



