वीरगञ्ज, २७ साउन । सामाजिक सञ्जाल फेसबुकमा पछिल्ला दिनमा एक सन्देश व्यापक रूपमा फैलिरहेको छ, जसमा कम्पनीले प्रयोगकर्ताको व्यक्तिगत जानकारी (फोटो, भिडियो, मोबाइल नम्बर) आफ्नै इच्छाअनुसार प्रयोग गर्न सक्ने नयाँ नियम लागू गर्न लागेको दाबी गरिएको छ। यो दाबीलाई आधार बनाएर धेरै प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा अस्वीकृति (Disclaimer) पोष्ट गरिरहेका छन्।
“आज अन्तिम दिन हो, म फेसबुक वा मेटालाई मेरो फोटो, जानकारी, मेसेज आदिको प्रयोग गर्न अनुमति दिन्न” भन्ने जस्ता वाक्यांशसहितका पोस्टहरू अधिकांशले हुबहु कपी–पेस्ट गरेका छन्। सञ्चारकर्मीहरुले यस्ता मेसेज पोष्ट गर्ने दुई व्यक्तिसँग कुरा गर्दा दुवैजनाले अरुको देखेर मात्र पोष्ट गरेको बताएका छन्।
दिल्लीका साइबर विज्ञ सन्नी नेहराले यो पूर्ण रूपमा अफवाह भएको बताए। उनका अनुसार यस्ता हल्ला २०२०, २०२१ र २०२३ मा पनि फैलिएका थिए र अहिले नेपाली संस्करणमा नेपालभर भाइरल भएको हो। सामाजिक सञ्जाल विज्ञ जसकरण मनोचाले भने, “फेसबुकमा यस्तो पोस्ट राखेर कुनै नियम परिवर्तन हुँदैन, खाता खोल्दा नै प्रयोगकर्ताले कम्पनीका शर्त स्वीकार गरिसकेको हुन्छ।”
फेसबुक वा मेटाले यसबारे कुनै आधिकारिक घोषणा नगरेको स्पष्ट भएको छ। विज्ञहरूले प्रयोगकर्तालाई यस्ता भ्रामक सन्देशमा नपर्न आग्रह गरेका छन्।



