सर्लाही । राज्यबाट पाउनुपर्ने अनुदान रकम नदिएपछि सर्लाहीका उखु किसानहरू मंगलबार सडकमा उत्रिएका छन्। जिल्लामा सञ्चालनमा रहेका तीनवटै चिनी मिलअगाडि किसानहरूले टायर बालेर आक्रोश पोखेका हुन्।
हरिवनस्थित इन्दुशंकर चिनी उद्योग, गोडैता–९ मा रहेको महालक्ष्मी सुगर मिल र धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योग अगाडि किसानहरूले एकैसाथ प्रदर्शन गरेका हुन्। किसानहरूले ‘अनुदानको बाँकी ३५ रुपैयाँ फिर्ता गर’, ‘कटौतीको निर्णय खारेज गर’ जस्ता नारासहित प्रदर्शन गरेका थिए।
राज्यले अघिल्लो वर्षको प्रति क्विन्टल ७० रुपैयाँ अनुदानमध्ये ३५ रुपैयाँ अझै बाँकी राखेको र चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमै उक्त अनुदान कटौती गरेको भन्दै किसानहरू आन्दोलित बनेका हुन्।
गोडैतामा भएको प्रदर्शन उखु उत्पादक संघ, सर्लाहीले आयोजना गरेको थियो। प्रदर्शनमा सहभागी किसानहरूले सरकारसँग दुईवटा माग राखेका छन्—पहिलो, अघिल्लो वर्षको बाँकी ३५ रुपैयाँ तत्काल उपलब्ध गराउनुपर्ने र दोस्रो, चालु वर्षको ७० रुपैयाँ अनुदान सुनिश्चित गर्नुपर्ने। यी माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने किसानहरूको चेतावनी छ। माग सम्बोधन नभए आन्दोलनको केन्द्र काठमाडौं बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।
गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले राज्यले अनुदान कटौती गरेर किसानलाई मार्न खोजेको आरोप लगाए। उखुलाई पनि अन्य बालीसरह पकेट जोन घोषणा गरेर प्रोत्साहन दिनुपर्ने माग गर्दै बलरा नगरप्रमुख रामाशंकर कुशवाहाले राज्यले किसानको घाउमा नुन छर्किएको टिप्पणी गरे।
केन्द्रीय उखु उत्पादक संघर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीका अनुसार किसानको १ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान रकम अझै राज्यबाट बाँकी छ।
“उखुको पैसा नपाउँदासम्म आन्दोलन जारी राखिन्छ,” आन्दोलनकारी किसानहरूको भनाइ छ।



