रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान महमद सेराजले पत्रकारको मूल्य तोक्दै धम्की दिएको घटना सार्वजनिक भएको छ ।
शनिबार राति प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य तथा बरिष्ठ पत्रकार सञ्जय मिश्रालाई फोन गरेर सेराजले ‘पत्रकारको मूल्य ५ हजार हो’ भन्दै चरित्र हत्या गर्ने भाषा प्रयोग गरेका थिए । ‘रौतहटका पत्रकारहरू पैसा पाए राम्रो समाचार लेख्छन्, नपाए झुट्टा लेख्छन्,’ भन्दै उनले मिश्रालाई समेत व्यक्तिगत रूपमा थर्काएका थिए ।
जनकपुर टुडे अनलाइनमा फतुवा बिजयपुरसम्बन्धी समाचार प्रकाशित भएपछि क्रोधित भएका सेराजले पटक–पटक फोन गरेका थिए । पत्रकार मिश्राका अनुसार फोन उठाएलगत्तै उनले गाली गलौज र धम्की दिन सुरु गरेका थिए । सेराजकी श्रीमती कार्यवाहक मेयर खातुनले समेत केही पत्रकारलाई कुटपिट गर्ने धम्की दिएको मिश्राको दाबी छ ।
घटनापछि पत्रकार महासंघ रौतहट, प्रेस चौतारीलगायतका संगठनले यसप्रति गम्भीर आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरेका छन् ।



