वीरगञ्ज । संघीय प्रहरी इकाइ कार्यालय जनकपुरबाट स्थानान्तरण गरी अब वीरगञ्जमा सञ्चालन हुने भएको छ। नेपाल प्रहरीको मधेस प्रदेशअन्तर्गत विपद् व्यवस्थापन गुल्म परिसरमा नयाँ कार्यालय सञ्चालनमा आउने तयारी तीव्र रूपमा भइरहेको छ।
वरिष्ठ प्रहरी नायब निरीक्षक (सप्रनानि) मुक्तिनारायण यादवका अनुसार, जनकपुरस्थित कार्यालयबाट सम्पूर्ण सामग्री र कर्मचारीहरूको स्थानान्तरण प्रक्रिया गत साता सुरु भइसकेको हो। तीन दिनभित्र कार्यालय सञ्चालनमा आउने गरी तयारी भइरहेको प्रहरीले जनाएको छ।
संघीय प्रहरी इकाइ कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइराला स्वयं वीरगञ्ज आइपुगी व्यवस्थापन कार्यको निरीक्षण गरिरहेका छन्।
संघीय प्रहरी इकाइ कार्यालयले मधेस प्रदेशका आठै जिल्लामा हुने अपराध अनुसन्धान, विश्लेषण, समन्वय र निगरानी कार्य गर्दै त्यसको विवरण प्रहरी प्रधान कार्यालयमा प्रत्यक्ष रूपमा पठाउने जिम्मेवारी पाउनेछ।
प्रहरीका अनुसार, देशभर सातवटै प्रदेशमा स्थापित संघीय इकाइहरू क्षेत्रीय सुरक्षा व्यवस्थापनलाई चुस्त बनाउन केन्द्रसँग प्रत्यक्ष समन्वयमा कार्यरत छन्। यसले अनुसन्धान र प्रहरी परिचालन प्रणाली थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।
वीरगञ्ज संघीय प्रहरी इकाइको प्रमुख सहर बन्न पुगेको यो स्थानान्तरणले मधेस प्रदेशको सुरक्षा व्यवस्थापनमा नयाँ गति थप्ने अपेक्षा गरिएको छ।



